गौमुलमा पहिरोले एक घर पूर्ण क्षति, गाउँ नै उच्च जोखिममा

बाजुरा- अविरल वर्षाका कारण गौमुल गाउँपालिका-३ माझपालीको भिट्टालीमा आएको पहिरोले एक घर पूर्ण क्षति भएको छ ।
लगातारको वर्षासंगै सोही गाउँपालिका-३ माझपालीका स्थानीय हर्क वि.क.को घर पूर्ण रुपमा क्षति भएको वडा नम्बर ३ का वडा अध्यक्ष गोरख बहादुर बोहराले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार काल्नेखानी मेलाबाट आएको पहिरोले काल्चेखानी खानेपानी आयोजना र एक पानी घट्न बगाएर क्षति पुर्याएको बताएका छन् ।
हर्क वि.क.को घर पछाडीबाट आएकाे पहिरोले पूर्ण रुपमा घर क्षति भएको बताए । यस्तै घरको तलबाट आएको पहिरोका कारण स्थानीय कौशल वि.क.को घर पनि उच्च जोखिममा रहेको वडाध्यक्ष बोहरा बताउँछन् ।
पहिरोले वडा नम्बर ३ को कार्यालय जाने बाटो समेत बगाएपछि आवतजातव नै बन्द भएको वडा अध्यक्ष बोहराको भनाई रहेको छ ।
पहिरोका कारण माझालीको भिट्टाली गाउँका १० परिवार समेत पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष बोहरा बताउँछन् ।
पहिरोले क्षति पुर्याएकाले प्रहरी पहिरो प्रभावित क्षेत्रमा गएको छ । क्षतिको विवरण भने आउन बाकी रहेको छ ।
यस्तै गएराति ११ बजे आएको अविरल वर्षासंगै आएको पहिरोले सोही गाउँपालिका-२ गैरा, आग्र र अन्द्राडीमा पनि क्षति पुर्याएको छ ।
वडा नम्बर २ का वडा अध्यक्ष देवबहादुर रोकायाका अनुसार भिजेडी मेला फुटेर आएको पहिरोले २ घर उच्च जोखिममा रहेको बताए ।
यस्तै सोही वडाको गैरामा रहेका २ परिवार पनि पहिरोको उच्च जोखिममा रहेकोले अन्यत्र सुरक्षित ठाउँ सार्न समन्वय भइरहेको वडाध्यक्ष रोकायाले बताएका छन् ।
लगातार अविरल वर्षा भइरहेकोले जोखिममा रहेको बस्तीका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि त्रिपालको लागि प्रशासनमा समन्वय भइरहेको वडाध्यक्ष रोकायाको भनाई छ ।
पहिरोको जोखिममा रहेका बस्तीमा मानवीय क्षति र जोखिमका कारण हुने घटना न्यनिकरणका लागि सुरक्षित ठाउँमा सार्नुको कुनै विकल्प नरहेको वडाअध्यक्ष रोकायाको धारणा रहेको छ ।
पहिरोका कारण उच्च जोखिममा वीर बहादुर रोकाया, नवीन रोकायाको घर रहेको गाउँपालिका विपद फोकल पर्सन प्रेम बहादुर सार्कीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पहिरोले अन्द्राडी गाउँका कलक रोकाया, दीपा रोकाया, धर्विन्द रोकाया, दीपक रोकाया, जगत रोकाया र जनक रोकायाको घर पनि जोखिममा रहेको बताए । छन् ।
यसैगरी आग्र गाउँका डबले रोकाया,लाल रोकाया र धारण रोकाया घर पनि पहिरोको जोखिममा रहेको गाउँपालिका विपद फोकल पर्सन प्रेम बहादुर सार्कीले बताएका छन् ।
आग्र गाउँमा अन्य घर पनि पहिरोको जोखिममा रहेकोले प्रभावित क्षेत्रमा प्रहरीको टोली गइरहेको सार्कीको भनाई रहेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले गौमुलमा पहिरो गएको घटनाको कुनै जानकारी नआएको बताएका छन् ।
पहिरोले क्षति पुर्याएको र जोखिममा रहेको बारेमा पालिकाका अध्यक्ष र वडाअध्यक्षसंग समन्वय गरी उनीहरुलाई उद्धार र राहतमा वितरणमा समन्वय गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताएका छन् ।
भिरालो जमिन र ममिलो माटोका कारण हरेक वर्ष वषौयाममा पहिरो र बाढीको कहर बढ्दै गएको छ । जथाभावी रुपमा खनिएका सडकका कारण पनि कतिपय ठाउँमा पहिरोको जोखिम बढ्दै गएको छ ।



