रसुवा बाढी : बेपत्ताको पहिचान गर्न सुदूरपश्चिममा आफन्तको डीएनए नमूना संकलन गरिंदै

काठमाडौं- रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ ।

बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म सुदूरपश्चिममा १४ जनाको डीएनए परीक्षण गर्न नमूना संकलन गरिएको छ । कञ्चनपुर र कैलालीका ६–६ र डडेल्धुराका दुई जनाको नमूना संकलन गरिएको हो ।

१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी २०९ जना बेपत्ता भएका थिए । जसमध्ये ५९ जना सम्पर्कमा आइसकेका छन् ।

प्रदेश प्रहरी प्रवक्ता विष्टले कैलालीका ४६, कञ्चनपुरका १०, बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका जानकारी दिए ।

उनले सुदूरपश्चिमका विभिन्न जिल्लाका १५० जना अहिले पनि सम्पर्कमा नरहेको बताए ।

प्रवक्ता विष्टले कञ्चनपुरका ३६, डडेल्धुरा र बाजुराका १६–१६, बैतडीका आठ, दार्चुलाका चार, डोटी, बझाङ र अछामका दुई-दुई जना सम्पर्कविहीन रहेको बताए ।

प्रहरीका अनुसार भोटेकोशी नदीको बाढीमा मृत्यु भएका र बेपत्ता भएकाहरूका ९७२ जना आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन भइसकेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्म बाढीमा परी मृत्यु भएका एक हजार ३४४ जनाको शव फेला परेको जनाएको छ । प्रहरीको पछिल्लो तथ्यांकअनुसार चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button