मार्तडीमा बडीमालिका कप सुरु, कर्मचारी र राजनितिक दल बीच मैत्रीपूर्ण खेल संचालन
बाजुरा- खेल क्षेत्रको प्रवर्दद्धन र युवाहरुको खेलप्रतिको आकर्षण बढाउने उद्देश्य सहित सदरमुकाम मार्तडीमा बडीमालिका कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
खेलकुद क्षेत्रको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले हिमालयन मक्स स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ३२ टोली सहभागी छन ।
प्रतियोगिताको उद्घाटन पूर्वप्रतिनिधिसभा सदस्य लालबहादुर थापाले गरेका छन् । उद्घाटन समारोहमा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, नेकपा एमाले बाजुरा जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक तथा मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय लगायतको सहभागी थिए ।
हिमालयन मक्स स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक विकको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहको सञ्चालन प्रेम नेपालीले संचालन गरेका थिए । समारोहमा नृत्य तथा गायन प्रस्तुती सहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल कर्मचारी र राजनीतिक दलका नेताबीच मैत्रीपूर्ण रूपमा खेलाइएको थियो । उक्त खेलमा कर्मचारीको टोलीले राजनीतिक दलका नेताको टोलीलाई ६–१ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगिता मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। सेभेन ए साइड प्रणालीमा खेलाइने प्रतियोगितामा प्रत्येक टोलीमा १० जना खेलाडी, एक जना व्यवस्थापक र एक जना प्रशिक्षक गरी १२ जना रहने व्यवस्था गरिएको छ ।
खेलाडी जिल्ला बाहिरका भए पनि सहभागी टोली भने बाजुरा जिल्लाभित्रकै हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोली दर्ता शुल्क सात हजार रुपैयाँ तोकिएको थियो ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टोलीले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अन्य विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताएका थिए ।
प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवालाई खेलकुदमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।



