बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ दलकै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ दलकै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
उनले मंगलबार सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेशसभाबाट बजेट पारित भएपछि थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।
यसैबीच, बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका अर्का प्रदेशसभा सदस्य धर्मराज पाठक पनि मंगलबारको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तारूढ दलभित्रै तीव्र असन्तुष्टि देखिएको छ। बजेटमा बेथिति रहेको भन्दै सत्तापक्षीय सांसदहरूले चर्को विरोध जनाएपछि प्रदेशसभामा बजेटमाथिको छलफलसमेत प्रभावित भएको थियो।
सत्तापक्षीय सांसदहरूको असन्तुष्टि सम्बोधन गर्न बजेट पारितसँगै त्यसको अध्ययनका लागि संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने सहमति भएपछि उनीहरू बजेट पारित गर्न सहमत भएका थिए। तर, बजेट पारित भएलगत्तै सत्तारूढ दलकै प्रदेशसभा सदस्य थापाले राजीनामा दिएपछि प्रदेश सरकारको बजेटप्रति सत्तापक्षभित्रै रहेको असन्तुष्टि फेरि सतहमा आएको छ।



