स्वामीकार्तिकमा स्याउको गुणस्तर परिक्षण

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा लगाइएका स्याउहरुको गुणस्तर परिक्षण गरिएको छ ।
स्याउ पकेटका क्षेत्रका रुपमा रहेको स्वामीकार्तिकमा कृषकहरुले लगाएर पाक्न लागेका विभिन्न प्रकारका स्याउहरुको आइतबार गुणस्तर परिक्षण गरिएको कृषि विकास शाखाका प्रमुख विनोद शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुुसार वडा नम्बर ३ जुकोटका कृषकहरुले लगाएको स्याउहरु पाक्न थालेपछि उनीहरुको गुणस्तर मापन गरिएको बताएका ।
गाउँपालिका कृषि विकास शाखा, राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना (जोन प्राविधिक एकाई बाजुरा) रLIBIRD / RERAS परियोजना, GEI तथा ASIA का प्राविधिक टोलीले गाउँपालिकाका विभिन्न कृषकहरूको स्याउ बगैंचामा पुगेर स्याउको गुणस्तर परिक्षण गरेको शाखाका प्रमुख शाहीले बताए ।
गुणस्तर परिक्षण टोलीले रेफ्र्याक्टोमिटर (Refractometer) को प्रयोग गरी स्याउको मिठास (TSS / Brix) मापन गरेको हो ।
परीक्षणबाट स्याउमा रहेको घुलनशील चिनीको मात्रा थाहा पाउने भएकाले फलको स्वाद, गुणस्तर तथा बजारयोग्यता मूल्याङ्कन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्राविधिक परीक्षणले कृषकहरूलाई उचित समयमा फल टिप्ने निर्णय गर्न, उत्पादनको गुणस्तर सुधार गर्न तथा बजारमा प्रतिस्पर्धी मूल्य प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने स्वामिकार्तिक खापर गाउपालिका कृषि शाखा प्रमुख शाहीको भनाई रहेको छ ।
स्याउ पकेट क्षेत्रका रुपमा स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाको पाण्डुसैन रहेका छन् । स्याउ उत्पादन बढी हुने क्षेत्रमा हरेक वर्ष कृषहरुलाई प्रोत्साहन स्वरुप अनुदानका कार्यक्रम मार्फत सहयोग हुँदै आएको छ ।



