राजमार्ग क्षेत्रमा विद्युत्का खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध


राेशन बुढा

बाजुरा- लगातारको अविरल वर्षासँगै आएको पहिरोका कारण साँफे-मार्तडी राजमार्ग सडकमा पर्ने नेपाल विद्युत् प्राधिकरणका विद्युत पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ ।
शनिबार मध्यरातदेखि विद्युत् सेवा अवरुद्ध भए पनि लगातार वर्षा भइरहेकाले मर्मत कार्यमा भने ढिलाइ भएको छ ।
राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको सदरमुकामसहितका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
सदरमुकाम मार्तडीको सेलाघाटदेखि नुनेपानीसम्म ३२ भन्दा बढी विद्युत् पोल पहिरोले ढलेपछि सेवा सुचारु गर्न एक साता लाग्ने भएको छ ।
साँफे-मार्तडी राजमार्ग सडकमा पर्ने सुवाकाँध, विरेखोला, नुनेपानीलगायतका क्षेत्रमा विद्युत्का पोल ढलेपछि विद्युत् आपूर्ति सेवा बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख लोकराज जोशीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारीअनुसार सुवाकाँधमा सडक माथिबाट आएको पहिरो खस्दा ७ खम्बा र विरेखोला आसपासमा २५ विद्युतका खम्बा ढलेका छन् ।
शनिबार मध्यरातदेखि जिल्लाभरि विद्युत् सेवा बन्द भए पनि हालसम्म सुचारु हुन सकेको छैन ।
आइतबार दिनभर सेवा सुचारुका लागि प्राविधिक टोली खटिएको भए पनि वर्षा सुरु भएपछि फिल्डमा खटिएको टोली काम गर्न नपाएर फर्किएको निमित्त प्रमुख जोशीले बताए ।
अछामबाट जिल्ला सदरमुकाम मार्तडीमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सञ्चालनमा रहेको छ ।
लगातार वर्षाका कारण शनिबारदेखि साँफे–मार्तडी राजमार्ग सडक खण्डमा पहिरो गएर विद्युत्का खम्बा ढलेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा राष्ट्रिय प्रसारण लाइन जडान भएको सदरमुकाम मार्तडी, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् ।
विद्युत् सेवा आपूर्ति बन्द भएपछि जिल्लामा सञ्चालन हुने सञ्चार माध्यम र व्यावसायिक रूपमा सञ्चालन हुँदै आएका विभिन्न उद्योगहरू बन्द भएका छन् । दैनिक रूपमा समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम भने प्रत्यक्ष मारमा परेका छन् ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य राजमार्ग अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध हुँदा खुलाउने प्रयास जारी रहे पनि वर्षा भएपछि अझै खुल्न सकेको छैन ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय साँफेबगरको जेसिबी प्रयोग भए पनि वर्षाका कारण सडकमा आएको पहिरो पन्छ्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले बताएका छन् ।
अवरुद्ध सडक सोमबार बिहानबाट पुनः पहिरो पन्छ्याएर खुलाउने कार्य सुरु गर्न लागिएको प्रहरी प्रवक्ता भाटले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button