पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो

काठमाडौं-  कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ ।

गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।

बरालले अनलाइनखबरसँग भने, ‘राति ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको भन्ने थियो । तर अहिले बिहान सबेरै स्थानीयहरूसँग सम्पर्क गर्दा खोलाको बहाब खुलिसकेको जानकारी पाएको छु । रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् ।’

बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए ।

गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसार राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट विस्तारै खोलाको बहाब खुलेको हो ।

अध्यक्ष केसीले अनलाइनखबरसँग भने, ‘मध्यरातिदेखि पहिरोले थुनिएको एक छेउको भागबाट खोलाको बहाब विस्तारै खुलेको थियो । अहिले खोलाको बहाब साविककै अवस्थमा आइसकेको छ । अहिलेलाई जोखिम टरेको छ ।’

गए राति अचानक पहिरो खसेर खोला थुनिए पछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button