बडीमालिका सहितका शक्तिपीठमा आज पुजा लाग्दै

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका सहितका शक्तिपीठहरुमा आज पुजा लाग्ने भएको छ । चतुर्दशी शुक्लपक्षका दिन लाग्ने बढडीमालिका, बुढीनन्दा सुनन्दा,बडालेक, दुनैलेक लगायतका शक्तिपीठहरुमा पुजा लाग्ने भएको हो ।
आस्थाका धरोहरका रुपमा रहेको बडीमालिका र बुढीनन्दामा हरेक वर्ष तीर्थयात्रीहरु जाने गरेका छन् । चतुर्दशी शुक्लपक्षका दिन लाग्ने बडीमालिकाको पुजामा डोटी र जुम्लाको पेटारो सहितको विशेष सरकारी पुजा लाग्ने गरेको छ ।
परम्परादेखि चल्दै आएको डोटीको डोल र जुम्लाको चन्दनाथको लिंगोको बडीमालिकामा पुजा लाग्ने गरेको पुजारी नेत्रप्रसाद पाध्यायले जानकारी दिएका छन् ।
उनका अनुसार बडीमालिका जगतकी जननी भएकाले तीर्थयात्रीहरुले मागेको बर पुरा हुने जनविश्वास रहेको बताए । बडीमालिकाले निःसन्तान भएकाहरुलाई सन्तान प्राप्ती हुने गरेको धार्मिक विश्वास रही आएको छ ।
यस्तै बुढीनन्दामा पनि आज नै पुजा लाग्ने गरेको छ । जिल्लाको दोस्रो शक्तिका रुपमा रहेको बुढीनन्दामा जाने भक्तजनहरुले आज पुजा गरेर फर्किने गरेका छन् ।
जिल्लाको बुढीनन्दा नगरपालिकामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ ।
यस्तै सत्य युगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मीक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताए ।
बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् ।
धार्मिक पूजाआरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।बडीमालिकाको दर्शनपछि मनोकांक्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायले बताएका छन् । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोट, सुदूरपश्चिम प्रदेशको सरकारको सरकारी टोली सहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली,यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्री सहित सरकारी टोलीको सरकारी पुजा हुने भएको छ ।
बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते लाग्दै छ । भने भक्तजनहरुको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए ।
बडीमालिका समुन्द्री सतहदेखि चार हजार २ सय मिटरको उचाइमा रहेको छ ।



