रसुवाको भोटेकोशीमा बाजुराका एघारजना जना सम्पर्क विहिन, दुई जना सम्पर्कमा आए

बाजुरा- बुधबार विहान आएको रसुवाको भोटेकोशी नदीको बाढीमा परी बाजुराका ११ जना सम्पर्क विहिन भएका छन् । रोजगारीका लागि गएका यहाँका तीन गाउँपालिकाका ११ जना स्थानीय सम्पर्क विहिन भएका हुन् ।
हिमाली गाउँपालिकाका-६ तथा हाल नेपालगञ्ज बाँकेमा बस्दै आएका १९ वर्षीय दीपक रोकाया र ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया र ३५ वर्षीय विक्रम भण्डारी रहेका छन् ।
यस्तै स्वामीकार्तिक खापर गाउँपालिका-४ वाईका मनऋषि सञ्ज्याल,मनकला सञ्ज्याल र सुस्मिता जोशी सोही गाउँपालिका वडा नम्बर ३ जुकुका विरेन्द्र जैशी र सत्यादेवी जैशी पनि सम्पर्क विहिन भएको आफन्तले बताएका छन् ।
त्यसैगरी जगन्नाथ गाउँपालिका-६ का मुकेश दमाई पनि सम्पर्क विहिन भएका छन् । दमाई व्यापारका लागि रसुवा गएको र हालसम्म सम्पर्कमा नआएको आफन्तले बताएका छन् ।
सम्पर्क विहिन भएका व्यक्तिहका आफन्तहरुले खोजी कार्यका लागि सरकार र स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
टिमुरेको भोटेकोशी नदीमा आएको बाढीमा परेका उक्त व्यक्तिहरु सम्पर्क विहिन भएको आफन्तहरुले बताएका छन् । गोसाइकुण्ड गाउँपालिकाको टिमुरेबाट उनीहरु सम्पर्क विहिन भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हिमाली गाउँपालिकाका पाँच जना, स्वामीकार्तिक गाउँपालिकाका पाँच जना र जगन्नाथ गाउँपालिकाका एक जना गरी ११ जना सम्पर्क विहिन भएको मौखिक जानकारी आएको बताएका छन् ।
१३ जना मध्ये शेरसिंह रोकाया र उजाना दमाई तिब्बतले सार्वजनिक गरेको सूचनामा नाम देखिएकाले उनीहरु सुरक्षित रहेका छन् ।
मौखिक जानकारी आएकाले यकिन बुझ्ने कार्य भइरहेको बताएका छन् । बाढीमा परी सम्पर्क विहिन भए नभएको यकिन गर्न समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई रहेको छ ।



