मानवता हराएको कस्तो कलियुग हो यो ?

मान बहादुर रोकाया

जनावरहरू मानवताको अस्तु खोज्दैछन्, अनि मानवता हराएको मेरो देशमा मान्छेहरू मरेका ला को सम्पत्ति दोहन गर्दैछन् । आखिर, के दया, करुणा र मानवीय भावना साँच्चिकै समाप्त हुँदै गएका हुन् ?
हिजो भोटेकोशीको मुहानबाट आएको विनाशकारी बाढीले पु¥याएको क्षतिको कुरा गर्दा भौतिक सम्पत्तिको हिसाब गर्न सकिएला, तर त्यसले पु¥याएको मानवीय क्षतिको कुनै मूल्याङ्कन गर्न सकिँदैन। पानीको भेलसँगै कति सपना बगे, कति परिवार उजाडिए, कति घरबार हराए र कति मानिसहरू आफ्ना प्रियजनबाट सदाका लागि छुट्टिए–यी पीडाको हिसाब कुनै कागजमा लेखेर पूरा हुँदैन ।
जब बाढीको सन्नाटा चितवनसम्म आइपुग्यो, त्यसपछिका दृश्यहरू सम्झँदा पनि मन काँप्छ। कतै घरहरू बगे, कतै बस्तीहरू उजाडिए, कतै परिवारका सदस्यहरू छुट्टिए । प्रकृतिको त्यो कहाली लाग्दो प्रहारका अगाडी मानिस निरही बनेर आफ्नो जीवन बचाउन दौडिरहेका थिए । कोही सुरक्षित स्थानतर्फ भागे, कोही उद्धारको प्रतीक्षामा बसे, अनि कतिपयले त्यो विनाशकारी भेलमै आफ्नो जीवन गुमाए ।
तर यही विपत्तिको बीचमा देखिएका केही अमानवीय दृश्यहरूले प्राकृतिक विपत्ती भन्दा ठूलो पीडा मनमा छोडेका छन् ।
जब मानिसहरू आफ्ना आफन्तको खोजीमा आँसु बगाइरहेका थिए, जब कसैको घर र जीवनभरको कमाइ पानीले बगाइरहेको थियो, त्यही बेला केही मानिसहरू अरूको दुःखमा आफ्नो स्वार्थ खोजिरहेका थिए । कसैले ग्यास र सामान लुटे, कसैले बाढीले छोडेका सामानमाथि हात सफा गरे, अनि अझ दुःखद कुरा मृतकप्रतिको सम्मानसमेत बिर्सिएर लाससँग जोडिएका गरगहना र सम्पत्ती माथि लोभ देखाए ।
प्राकृतिक विपत्तिले मान्छेको घर भत्काउन सक्छ, तर मान्छेको मनभित्रको मानवता भत्किनु अझ ठूलो विपत्ती हो ।
बाढीले पुल बगाउन सक्छ, सडक बगाउन सक्छ, घर बगाउन सक्छ; तर हामीले आफ्नो विवेक, करुणा र संस्कार बग्न दिनु हुँदैन । विपत्तीको समयमा मानिसको असली परिचय उसको सम्पत्तीले होइन, उसको व्यवहारले दिन्छ । अरूको दुःखमा हात थाप्ने व्यक्ति नै साँचो अर्थमा मानिस हो ।
आज प्रश्न बाढीले कति क्षति ग¥यो भन्ने मात्र होइन । प्रश्न यो पनि हो–हाम्रो समाजमा मानवता कति बाँकी छ ?
हामीले आफ्ना सन्तानलाई विद्यालयमा पढायौँ, संस्कारका कुरा सिकायौँ, धर्म र संस्कृति बुझायौँ । तर आज विपत्तीमा परेका मानिसको पीडामाथि समेत स्वार्थ खोज्ने प्रवृत्ति देखिन्छ, भने हामीले आफैंलाई सोध्नुपर्ने बेला आएको छ–हामीले आफ्ना छोराछोरीलाई आखिर के सिकाइरहेका छौँ ?
धन्य मेरो देश !
के यही सभ्यता हो ?
के यही संस्कार हो ?

के यही मानवता हो, जुन हामीले बुबा–आमाबाट सिक्यौँ?
बाढीको पानी एक दिन घट्छ । बाटो फेरि खुल्छ। घरहरू फेरि बन्न सक्छन् । बजार फेरि चल्न सक्छ । तर आज गुमेका जीवन फर्केर आउँदैनन् । पीडित परिवारको मनमा परेको घाउ पनि सामान्य हुन धेरै समय लाग्छ ।
त्यसैले विपत्तीको घडीमा हामीले एक–अर्काको पीडा बुझौँ । लुट्ने हात होइन, सहयोग गर्ने हात बनाऔँ । तमासा हेर्ने आँखा होइन,आँसु पुछ्ने आँखा बनाऔँ । मृतकको सम्पत्तीमा लोभ गर्ने होइन, मृतकको सम्मान गर्ने संस्कार बचाऔँ ।
किन की सभ्यता अग्ला भवनले होइन, संकटमा देखिने मानवीय व्यवहारले चिनिन्छ ।
आज भोटेकोशीदेखि चितवनसम्म बाढीले छोडेको पीडाले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ,प्रकृतिसँग लड्न सकिँदैन होला, तर विपत्तीको समयमा हामी कस्तो मानिस बन्ने भन्ने निर्णय हामी आफैं गर्न सक्छौँ ।
बाढीले धेरै कुरा बगायो, तर हाम्रो मानवता नबगोस्।
घरहरू फेरि बनून्, जीवन फेरि चलोस्,तर मानवीय संवेदना कहिल्यै नमरोस् ।
मृत आत्माप्रति हार्दिक समवेदना, ईश्वरले धैर्य गर्ने शक्ति प्रदान गरून् घाईते तथा बेपत्ता भएका सबैै सकुसल हुन र यसमा सरकारले थप पहल कदमी अगाडी बढाओस् ।
जय मानवता

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button