जनप्रतिनिधी र कर्मचारीको दुई दिनको तलब रसुवा बाढी पिडितका लागि सहयोग गर्ने

बाजुरा- भदौ १० गते आएको विनाशाकारी बाढीबाट प्रभावित भएकाहरुका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी स्वामीकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले रकम सहयोग गर्ने भएका छन् ।
आइतबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको दुई दिनको हुन आउने तलबबाट कट्टी हुने गरी बाढी पिडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिंह भण्डारीद्धारा हस्ताक्षरित अपिलमा रसुवाको बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पर्क विहिन भएकाहरुको तत्काल खोजी गरी उद्धार गर्न सरकारसंग आग्रह गरिएको छ ।
गाउँपालिकाबाट रसुवामा रोजगारीको सिलशिलामा गएर सम्पर्क विहिन भएका र उद्धार हुन बाकी रहेका भए गाउँपालिकालाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
गाउँपालिकाबाट रोजगारी र व्यापार व्यवसायमा गएका नागरिकहरु सम्पर्क विहिन भएका भए पालिका अध्यक्ष भरत बहादुर रोकाया र प्रमुख प्रशासकीय अधिकृत रमेश सिंह भण्डारीलाई सम्पर्क गर्न भनिएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाबाट पाँच जना बाढीपछि सम्पर्क विहिन भएका छन् । उनीहरुको खोजी कार्यका लागि आफन्तहरुले सामाजिक संजाल मार्फत आग्रह गर्दै आएका छन् ।



