नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ ।

लगातार तीन खेलमा पराजित नेपालले बुधबार चौथो अर्थात् अन्तिम खेल खेल्न लागेको हो । सबैभन्दा खराब लयमा रहेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियासँग रोमाञ्चक प्रतिस्पर्धा गरे पनि तीन रनको नमिठो हार खाएको छ ।
शृङ्खलाको अन्तिम खेलमा बुधबार दिउँसो २ः४५ बजे नेपालले नेदरल्यान्ड्सको सामना गर्न लागेको हो ।

यो शृङ्खलामा अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना सकिएको छ ।

यो शृङ्खलाको पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेले पराजित भयो। नेपालले प्रस्तुत गरेको समान १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरको समाप्तिमा चार विकेट गुमाएर पूरा गरेको थियो ।

तेस्रो खेलमा नामिबियाले पूरै ५० ओभर खेल्दै दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल ३ रनले पराजित भयो । पूरै ५० ओभर खेलेको नेपालले सात विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सकेको थियो ।

लगातार हारसँगै तालिकाको पाँचौ स्थानमा रहेको नेपाल छैटौं स्थानमा पुगेको छ भने नामिबिया पाँचौ स्थानमा उक्लिएको छ । अंक तालिका अनुसार नेदरल्यान्ड भने तेस्रो स्थानमा बलियो बनेको छ ।
नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोडेको छ । समान खेल खेलेको नेपालको २४ अंक छ भने नामिबियाले २६ अंक बनाएको छ।
४३ अंकसहित अमेरिका शीर्ष स्थानमा छ भने ३८ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा छ । ३१ अंक जोडेको ओमान चौथो स्थानमा छ भने २४ अंकसहित क्यानडा सातौ र यूएई १४ अंकसहित पुछारमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button