अवरुद्ध विद्युत सेवा सुचारु
बाजुरा- लगातारको अविरल वर्षासंगै आएको पहिराले आपूर्ति बन्द भएको राष्ट्रिय प्रसारणको लाइनको विद्युत सेवा तीन दिनपछि सुचारु भएको छ ।
गएको शनिबार मध्येराति अविल वर्षासंगै साँफे मार्तडी सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युतका खम्बाहरु ढले आपूर्ति सेवा बन्द भएको हो । आपूर्ति बन्द भएको तीन दिनपछि मंगलबार साँझ ६ः०० बजेबाट सदरमुकाम मार्तडीमा पुनः सुचारु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
वर्षाका कारण पहिरो आएर ढलेका विद्युतका खम्बाहरु गाडेर विद्युतको तारको लाइन तानेपछि सदरमुकाम मार्तडीबा विद्युत सेवा सुचारु गर्न सकिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन् ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सुवाकाँध र ६ को वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द भएको थियो ।
छिमेकी जिल्ला अछामदेखि संचालनमा रहेको राष्ट्रिय प्रसारण लाइनको ३३ के.भी. लाइनमा पहिरोले धेरै क्षति नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका सुपरभाइजर सागर सिंहले बताएका छन् ।
क्षति भएको प्रसारण लाइन मर्मत गर्न अझै केही समय लाग्ने भएकाले हाल सदरमुकाम मार्तडी क्षेत्रमा ११ के.भी. लाइनको विद्युत् सेवा सुचारु गरिएको उनले बताए ।
“पहिरोले ३३ के.भी. लाइनका धेरै खम्बा ढलेपछि तत्काल ११ के.भी. लाइन मर्मत गरेर बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र सदरमुकाम मार्तडी क्षेत्रमा सेवा सुचारु भएको हो । सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको लाइनमा पनि धेरै खम्बा ढलेपछि हालसम्म सेवा पूर्णरुपमा रहेको सिंहले भने ।”
शनिवार राति जिल्लाभर विद्युत् सेवा बन्द भएकोमा पछिल्लो दिनबाट नै मर्मत गर्न प्राधिकरण वितरण केन्द्रबाट प्राविधिकहरुको टोली खटिए पनि लगातारको वर्षाका कारण केही ढिलाई हो । आपूर्ति बन्द भएको विद्युत् मर्मत कार्य क्षेत्रमा आफू पनि खटिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
प्रसारण लाइनको ३३ के.भी. पनि चाडै मर्मत गरेर सञ्चालनमा ल्याइने प्रजिअ निरौलाको भनाई रहेको छ ।
अवरुद्व सडक बिहानबाटै खुलेको भन्दै अस्थायी रुपमा सदरमुकाममा बिजुली र खानेपानीको व्यवस्था गरिएको प्रजिअ निरौला बताउँछन् ।
पहिरोका कारण लाइनमा क्षति पुगेर अवरुद्ध विद्युत् सेवा मर्मतका लागि सोमबार प्राधिकरणका प्राविधिक र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीहरुको टोली समेत खटाइएको थियो ।
तीन दिनसम्म जिल्लामा विद्युत् आपूर्ति बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, सञ्चार माध्यमका अत्यावश्यक सेवा प्रभावित हुनुका साथै स्थानीयहरुले विद्युत् सेवाबाट वञ्चित हुन परेको थियो ।



