कोदो दिवस : रैथाने बालीको प्रवद्र्धन र वक्तृत्वकला प्रतियोगिता संचालन

बाजुरा– जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कोदो दिवसको अवसरमा रैथाने बालीको प्रवद्र्धन तथा संरक्षण गर्नका लागि प्रदर्शन तथा विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता संचालन गरेको छ । रैथाने अन्नबालीको संरक्षण, खाद्य तथा पोषण सुरक्षाको प्रवद्र्धन र जलवायु अनुकूल कृषि प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित दोस्रो कोदो दिवस २०८३ विविध सचेतना कार्यक्रम गरी मनाइएको गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार “कोदो बाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा सम्बद्र्धन” भन्ने राष्ट्रिय नाराका साथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (RERAS) परियोजनाअन्तर्गत LI–BIRD÷RERAS र GEI Asia को सहकार्यमा वडा नं. ३ जुकोटस्थित शम्भु सुनन्दा माध्यमिक विद्यालयमा अन्तर–माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कोदोजन्य परिकार प्रदर्शनी गरिएको बताएका छन् ।
कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष प्रेम कँटेलले गर्नुभएको थियो भने गाउँपालिकाकी उपाध्यक्ष सुलोचना भण्डारी बुढा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।LI–BIRD को RERAS परियोजनाका लेखापाल लोकेन्द्र खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थी, कृषक, महिला समूह, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कृषि प्राविधिक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कोदोसहित रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि, पोषण सुरक्षा, स्थानीय अर्थतन्त्रमा यसको योगदान, जलवायु परिवर्तनका चुनौती तथा आवश्यक नीतिगत सुधारका विषयमा तथ्यपूर्ण, तार्किक र प्रभावशाली धारणा प्रस्तुत गरेका थिए। उनीहरूले रैथाने बालीको संरक्षणलाई भविष्यको खाद्य सुरक्षासँग जोड्दै स्थानीय सरकारले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा मुख्य आकर्षण कोदोजन्य परिकार प्रदर्शनी बनेको थियो । स्थानीय कृषक तथा महिला समूहले कोदोबाट तयार गरिएका ढिँडो, रोटी, सेलरोटी, खिर, लड्डु, बिस्कुट, हलुवा, पुवा तथा कोदोको पिठोलगायत विभिन्न परिकार प्रदर्शन गरेका थिए ।
प्रदर्शनीले कोदोलाई परम्परागत खाद्यान्नमा मात्र सीमित नराखी पोषणयुक्त, स्वादिष्ट तथा व्यावसायिक सम्भावना बोकेको बालीका रूपमा स्थापित गर्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, आइरन, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट तथा अन्य आवश्यक खनिज तत्व पाइने भएकाले कुपोषण न्यूनीकरण, मधुमेह नियन्त्रण, मुटुको स्वास्थ्य सुधार तथा सन्तुलित आहारका लागि यो अत्यन्त उपयोगी बाली भएको उल्लेख गरे ।
पछिल्लो समय स्वास्थ्यप्रतिको बढ्दो सचेतनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कोदो तथा अन्य मिलेट बालीको माग निरन्तर बढिरहेको उनीहरूको भनाइ थियो। वक्ताहरूले कोदो, चिनो, कागुनो, जुनेलो र सामालगायत रैथाने मिलेट बालीहरू नेपालका पहाडी तथा हिमाली क्षेत्रको खाद्य प्रणालीको ऐतिहासिक आधार भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, अनियमित वर्षा र प्राकृतिक विपद्को अवस्थासमेत यी बालीले तुलनात्मक रूपमा स्थिर उत्पादन दिने भएकाले दिगो तथा उत्थानशील कृषि प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा रैथाने अन्नबालीको संरक्षण कृषि उत्पादनमा मात्र सीमित विषय नभई खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा ग्रामीण आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय अभियान भएकोमा जोड दिइएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार पहुँच र कृषि उद्यम विकाससम्मको मूल्य शृङ्खलामा स्थानीय सरकारले थप लगानी र सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित यस कार्यक्रमले रैथाने बालीप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै स्थानीय उत्पादनलाई पोषण, स्वास्थ्य र आर्थिक समृद्धिसँग जोड्दै संरक्षण र प्रवद्र्धनको अभियानलाई थप सशक्त बनाएको सहभागीहरूको निष्कर्ष रहेको छ ।



