सेती-कर्णालीका छालसँगै बगेको संस्कृति : ओझेलमा पारिएका स्रष्टाहरूको आवाज

मान बहादुर राेकाया

सुदूरपश्चिम र कर्णाली केवल नेपालको नक्सामा देखिने भूगोल होइनन्। यी भूगोलभित्र शताब्दीयौँ देखि बाँच्दै आएको एउटा गहिरो सभ्यता छ-आफ्नै भाषा, आफ्नै लय, आफ्नै भेषभूषा, आफ्नै धार्मिक आस्था, आफ्नै संस्कार र आफ्नै जीवनदर्शन बोकेको सभ्यता ।
सेती र कर्णालीका छालसँगै यहाँका मानिसका कथा बगेका छन् । पहाडका उकाली–ओरालीसँगै दुःख, सुख, प्रेम, विरह, संघर्ष र आशाका गीतहरू जन्मिएका छन् । गाउँका चौतारा, मेलापात, खेतका गरा, देउराली र मन्दिरका आँगनबाट सिर्जना भएका ती गीत र भाकाहरू केवल मनोरञ्जनका साधन थिएनन्; ती हाम्रो इतिहासका मौखिक दस्तावेज थिए ।
ठाडी भाका, देउडा, फागलगायतका लोक परम्पराले सुदूरपश्चिम र कर्णालीको सामाजिक पहिचान बोकेका छन् । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो संस्कृति हाम्रो पहिचान हो, हाम्रो आत्मा हो र हाम्रो अस्तित्वको एउटा बलियो आधार हो ।
तर प्रश्न उठ्छ-यति समृद्ध सांस्कृतिक सम्पदा बोकेको भूगोलका स्रष्टा र संस्कृतिकर्मीहरू किन बारम्बार ओझेलमा पर्छन् ?
असमानताको बीउ कहाँबाट रोपियो ?
साहित्य, कला र संस्कृतिको कुनै भूगोल हुँदैन भनिन्छ। तर व्यवहारमा भने भूगोलले अवसर निर्धारण गरेको देखिन्छ ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानसम्म सहभागिता र नेतृत्वदायी भुमिकामा जानसक्ने श्रष्ठा र कलाकारहरुलाइ काठमाडौंका रंगमञ्चमा देखिने संस्कृती राष्ट्रिय संस्कृती बन्न रोक लगाईयो, सुदूर र कर्णालीका डाँडाकाँडामा गुञ्जिएको भाका राष्ट्रिय अभिलेखमा पुग्न वर्षौँ लाग्छ । केन्द्रमा बसेर लेखिएको इतिहासले धेरै ठाउँ पाउँछ, तर गाउँका चौतारामा पुस्तौँदेखि सुनाइँदै आएको मौखिक इतिहास प्रायः हराउँदै जान्छ। त्यहि काम राज्यले गरि रहेको छ ।
यही विडम्बनाले सुदूर र कर्णालीका स्रष्टाको मनमा एउटा प्रश्न जन्माउँछ-हामीले सिर्जना गरेको कला र साहित्य राष्ट्रिय सम्पदा होइन र ?
राज्यको दायित्व सबै भूगोल, समुदाय र संस्कृतिलाई समान सम्मान र अवसर दिनु हो । तर अवसरको पहुँच, संस्थागत संरक्षण, पुरस्कार, अभिलेखीकरण, संगठनमा सहभागिता, प्रचार-प्रसार र राष्ट्रिय मञ्चमा प्रतिनिधित्वका सवालमा असमानता देखिनु दुःखद पक्ष हो ।
यसरी लामो समयसम्म एउटै भूगोल र एउटै केन्द्र वरिपरि सांस्कृतिक शक्ति केन्द्रित हुँदा अन्य भूगोलका प्रतिभा क्रमशः छायामा पर्न सक्छन्। यही छायामा परेका स्रष्टाहरूको आवाज आज उठाउनुपर्ने बेला आएको छ ।
सेती र कर्णालीसँगै बगेका शब्दहरू
सेती नदी केवल पानी होइन। त्यसमा एउटा सभ्यताको स्मृति बगेको छ । कर्णाली केवल नदी होइन । त्यसको प्रत्येक छालमा एउटा पुस्ताको कथा छ।यी नदीका किनारमा जन्मिएका शब्दहरूमा पहाडको गन्ध छ । यहाँको लोकभाकामा माटोको सुवास छ । देउडाको लयमा सामूहिक जीवनको स्पन्दन छ। फागमा धार्मिक आस्था, सामाजिक सम्बन्ध र सांस्कृतिक स्मृति भेटिन्छ । ठाडी भाकामा जीवनको पीडा, प्रेम र विरहका अनेक रंगहरू भेटिन्छन् । हाम्रा अग्रजहरूले यी भाकालाई केवल गाएनन्; उनीहरूले संस्कृतिलाई स्वर दिए । उनीहरूले मौखिक परम्परालाई शब्द दिए । उनीहरूले आफ्ना समयका कथा भावी पुस्तासम्म पु¥याउने पुल बनाए ।
त्यसैले सुदूरपश्चिमको कला र संस्कृति सम्झँदा हामीले आज चर्चामा रहेका केही नाम मात्र होइन, पुस्तौँदेखि यो परम्परालाई जोगाउँदै आएका ती अनगिन्ती नाम विहीन कलाकार र स्रष्टालाई पनि सम्झनुपर्छ ।
सुदूरपश्चिम तथा कर्णालीको सांस्कृतिक यात्रामा अनेकौँ अग्रज व्यक्तित्वहरूले आफ्नो जीवन समर्पण गरेका छन् ।
ठाडी भाका, देउडा र फाग नृत्य, अभिनय मार्फत जनजीवनसँग जोडेर संस्कृती र धर्मलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गर्ने हाम्रा आदरणीय अग्रजहरू हाम्रो सांस्कृतिक इतिहासका अमूल्य निधी हुन् । त्यसैले यस्ता स्रष्टालाई ओझेलमा पारिनु भनेको एउटा व्यक्तिलाई मात्र ओझेलमा पार्नु होइन; त्यससँगै एउटा पुस्ताको सांस्कृतिक योगदानलाई कमजोर बनाउनु हो ।
संस्कृति कुनै केन्द्रको निजी सम्पत्ति होइन
संस्कृति कुनै राजधानीको स्वामित्वमा हुँदैन ।

संस्कृति त गाउँको आँगनमा हुन्छ । बाजाको तालमा हुन्छ । मन्दिरको घण्टीमा हुन्छ । मेलापातमा हुन्छ । देउडाको घेरामा हुन्छ। फागको स्वरमा हुन्छ। आमाको लोरीमा हुन्छ । बाजेको कथामा हुन्छ। कर्णालीको छालमा हुन्छ । सेतीको प्रवाहमा हुन्छ ।
त्यसैले राष्ट्रिय संस्कृति निर्माण गर्दा देशका सबै भूगोलको समान सहभागिता आवश्यक छ ।
सुदूरपश्चिम र कर्णालीलाई केवल विकटताको परिचयले चिनाउनु हुँदैन । यहाँका मानिसलाई केवल अभाव र पछौटेपनको कथामा सीमित गर्नु हुँदैन । यी क्षेत्रले देशलाई दिएको कला, साहित्य, संस्कृति, दर्शन र सिर्जनशीलताको योगदानलाई पनि राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्छ ।
कलाकारलाई बाँच्नका लागि पनि संस्कृति चाहिन्छ
हामी अक्सर भन्छौँ-“कला र संस्कृति जोगाउनुपर्छ ।”

तर संस्कृति जोगाउने कलाकार स्वयं कसरी बाँचिरहेका छन् भन्ने प्रश्न कमै सोधिन्छ ।
एउटा कलाकारले वर्षौँसम्म आफ्नो कला साधना गर्छ। एउटा स्रष्टाले आफ्नो जीवनको महत्वपूर्ण समय सिर्जनामा खर्च गर्छ। एउटा लोककलाकारले पुस्तौँ पुरानो भाका जोगाउँछ । तर जब उसलाई राज्यको सम्मान, अवसर, आर्थिक संरक्षण र उचित मञ्च आवश्यक पर्छ, त्यही कलाकार अदृश्य हुन पुग्छ भने समस्या कलाकारमा मात्र छैन, हाम्रो सांस्कृतिक नीतिमा पनि छ ।
स्रष्टालाई कार्यक्रमको उद्घाटनमा बोलाएर मात्र संस्कृति जोगिँदैन ।
उनीहरूका सिर्जनाको अभिलेख राख्नुपर्छ। हरेक क्षत्रमा सहभागिता गराउनु पर्छ। उनीहरूको जीवनी लेखिनुपर्छ । पुराना गीत र भाका संकलन गर्नुपर्छ । लोकवाद्य संरक्षण गर्नुपर्छ । स्थानीय कलाकारलाई राष्ट्रिय मञ्च दिनुपर्छ । विद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति समेटिनुपर्छ। नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्नुपर्छ ।
अनि मात्र संस्कृति संरक्षणको कुरा व्यवहारमा रूपान्तरण हुन्छ ।
ओझेलमा परेका आवाजलाई उज्यालोमा ल्याउनुपर्छ
हामी कसैको विरोध गरेर अर्को व्यक्तिलाई अगाडि ल्याउने पक्षमा होइनौँ।
हामी त समानताको पक्षमा छौ।
कुनै कलाकारलाई सम्मान गर्दा अर्को कलाकारको सम्मान घट्दैन। कुनै भूगोलको संस्कृति राष्ट्रिय मञ्चमा पुग्दा अर्को भूगोलको संस्कृति कमजोर हुँदैन ।
बरु सबैको आवाज जोडिँदा राष्ट्रको सांस्कृतिक स्वर अझ बलियो हुन्छ ।
त्यसैले सुदूरपश्चिम र कर्णालीका कलाकार, साहित्यकार, लोक गायक, संस्कृतिकर्मी र अग्रज स्रष्टाहरूको योगदानलाई खोजी–खोजी अभिलेखीकरण गर्न आवश्यक छ ।
जसले इतिहास लेखेनन्, उनीहरूको इतिहास लेखिनुपर्छ। जसका गीत रेकर्ड भएनन्, ती गीत रेकर्ड गरिनुपर्छ । जसका सिर्जना पुस्तौँदेखि मुखैमुखमा बाँचे, तिनलाई दस्तावेज बनाउनुपर्छ । जसका नाम राजधानीका मञ्चमा उच्चारण भएनन्, तिनलाई राष्ट्रिय स्मृतिमा स्थान दिनुपर्छ ।
हाम्रो असहमति कसैविरुद्ध होइन, असमानताविरुद्ध हो
हामी सुदूरपश्चिमका स्रष्टाहरूलाई ओझेलमा पार्ने कुनै पनि प्रवृत्तिप्रति असहमत छौँ ।
यो असहमति कुनै व्यक्ति, संस्था वा भूगोलविरुद्धको असहमति होइन। यो असहमति सांस्कृतिक असमानताविरुद्ध हो ।
हामी प्रश्न गर्छौँ-
किन सुदूरको प्रतिभा राष्ट्रिय बन्न काठमाडौं पुग्नैपर्छ ?
किन कर्णालीको लोकभाका चर्चित हुन बाहिरबाट कसैले प्रमाणित गर्नुपर्छ ?
किन गाउँका अग्रज कलाकारको योगदान उनीहरूको जीवनकालमै पर्याप्त रूपमा मूल्यांकन हुँदैन ?
किन हाम्रो मौलिक संस्कृतिलाई संरक्षण गर्ने जिम्मेवारी केही व्यक्तिको व्यक्तिगत प्रयासमा मात्र सीमित हुन्छ ?
यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
अब इतिहास पुनः पढ्ने समय आएको छ ।
अब सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक इतिहासलाई नयाँ दृष्टिले पढ्ने समय आएको छ ।
इतिहास केवल दरबार र युद्धको कथा होइन। इतिहास गाउँका गीतमा पनि हुन्छ। इतिहास लोकभाकामा पनि हुन्छ । इतिहास नाच्ने पाइलामा पनि हुन्छ । इतिहास कलाकारको स्वरमा पनि हुन्छ। इतिहास स्रष्टाको कलममा पनि हुन्छ ।
त्यसैले सेती र कर्णालीका छालसँगै बगेका शब्दहरूलाई संकलन गरौँ ।
ठाडी भाकालाई अभिलेख गरौँ। देउडाको मौलिकता संरक्षण गरौँ। फागका धार्मिक तथा सांस्कृतिक पक्षलाई दस्तावेज बनाऔँ। स्थानीय भेषभूषा, भाषा, लोकवाद्य र परम्परालाई पुस्तान्तरण गरौँ ।
र सबैभन्दा महत्वपूर्ण-यी सम्पदालाई जीवित राख्ने स्रष्टाहरूलाई सम्मान गरौँ ।
अन्त्यमा सेती–कर्णालीको आवाज दबिनु हुँदैन
सुदूरपश्चिम र कर्णालीका डाँडाकाँडामा आज पनि गीत गुञ्जिन्छ ।
कुनै गाउँको आँगनमा देउडाको घेरा लागिरहेको होला। कुनै वृद्ध कलाकार पुरानो भाका सम्झिरहेका होलान् । कुनै नयाँ पुस्ताको युवाले आफ्नो पुर्खाको संस्कृति सिकिरहेको होला । कुनै स्रष्टा सेतीको किनारमा बसेर आफ्नै माटोको कथा लेखिरहेको होला ।
यी सबै आवाज नेपालको आवाज हुन् ।
त्यसैले सुदूरको आवाजलाई सुदूरमै सीमित नराखौँ । कर्णालीको संस्कृतिलाई कर्णालीमै कैद नगरौँ। सेती र कर्णालीसँगै बगेका शब्दलाई राष्ट्रिय साहित्यको धारामा मिसाऔँ ।
हाम्रा अग्रज स्रष्टाहरूले रोपेको संस्कृतिको बिरुवालाई हामीले संरक्षण गर्नुपर्छ । उनीहरूको योगदानमाथि धुलो जम्न दिनु हुँदैन । इतिहासले बिर्सिएका नामहरू खोज्नुपर्छ । ओझेलमा परेका प्रतिभालाई उज्यालोमा ल्याउनुपर्छ । हामिले राज्यबाट धेरै आशा गरेका छौ । निरासामा परिणत नगरोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button