सुरक्षा निकायलाई विपद सामग्री हस्तान्तरण

बाजुरा- जिल्लामा हुने विपदका घटनामा उद्धारका लागि चाहिने आवश्यक सामग्री तीन वटै सुरक्षा निकायलाई मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हस्तान्तरण गरेका हुन् ।
प्रशासनले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि जिल्लामा रहेका तीनवटै सुरक्षा निकायलाई विपद् उद्धार तथा व्यवस्थापन कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष डोरेन्द्र निरौलाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनालाई उद्धार कार्यमा आवश्यक पर्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लक्ष्मण पुडासैनीले बार्जु खबरलाई जानकारी दिएका छन् ।


उनले दिएको जानकारी अनुसार तीन वटै सुरक्षा निकयालाई लाइफ ज्याकेट, उड कटर, चार्जिङ टर्चलाइट, सेफ्टी बेल्ट, सेफ्टी हेल्मेट, स्ट्रेचर, फोरमेन टेन्ट, लाइफ थ्रो ब्याग, रेस्क्यु डोरी, हार्नेस, क्याराबिनर, हेड ल्याम्प, सर्चलाइट, छालाको पञ्जा, जुमर तथा स्लीपिङ ब्याग लगायतका सामग्री हस्तान्तरण गरिएको बताए ।
विपद् सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मनसुनको समयमा बाजुराका अधिकांश क्षेत्र बाढी, पहिरो, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहने भएकाले पूर्वतयारीलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले विपद्को सूचना प्राप्त हुनेबित्तिकै सुरक्षा निकायबीच समन्वय गरी तत्काल उद्धार तथा राहतमा खटिन आग्रह गर्दै विपद् न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षा नै पहिलो प्राथमिकता भएको बताए ।
विपद् सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, तीन वटै सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए ।


सुरक्षा निकाय प्रमुखहरुले सामग्री बुझ्दै यसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताएका छन् ।
यस्तै विपद्को जुनसुकै परिस्थितिमा पनि नागरिकको जिउधनको सुरक्षाका लागि २४ सै घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button